दफा १८
सल्लाहकार समिति
: (१) खोप कार्यक्रमको विकास, विस्तार एवं सञ्चालन गर्न तथा प्राकृतिक प्रकोप वा महामारी भएका बखत तत्काल खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समितिलाई राय सल्लाह दिन एक राष्ट्रिय खोप सल्लाहकार समिति रहनेछ ।
(२) सल्लाहकार समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) जनस्वास्थ्य विषेशज्ञ चिकित्सक वा वरिष्ठ बालरोग विषेशज्ञहरु मध्येवाट मन्त्रालयले मनोनीत गरेको व्यक्ति – अध्यक्ष
(ख) निर्देशक, बाल स्वास्थ्य महाशाखा, विभाग – सदस्य
(ग) नेपाल पिडियाट्रिक सोसाइटीको सभापति वा निजले तोकेको सो सोसाइटीको प्रतिनिधि – सदस्य
(घ) इपिडिमियोलोजिष्ट, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य अर्थशास्त्री वा वरिष्ठ बालरोग विषेशज्ञहरुमध्येवाट मन्त्रालयले मनोनीत गरेका तीनजना – सदस्य
(ङ) प्रमुख, खोप शाखा, विभाग – सदस्य–सचिव
(३) सल्लाहकार समितिको अध्यक्ष तथा मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सल्लाहकार समितिको अध्यक्ष तथा मनोनीत सदस्यले पदीय जिम्मेवारी पूरा नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सल्लाहकार समितिको अध्यक्ष वा सदस्यलाई हटाउनु अघि मन्त्रालयले निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
(६) सल्लाहकार समितिको सचिवालयको काम विभागको बाल स्वास्थ्य महाशाखाले गर्नेछ ।